अमला


स्थानीय नाम: अमला 

बैज्ञानिक नाम: Emblica officinalis Gaertn

/syn. Phyllanthus emblica Linn.

अंग्रेजी नाम: Emblic Myrobalanपरिचय

यो समुद्र सतहदेखि करिब १५०० मीटरसम्मको ऊँचाईमा पाइने मझौला खालको रुख हो । पात- साना, मसिना, अमिलीको पात जस्तै- जस्तै, डाँठमा दुईपट्टी मिलेर बसेका हुन्छन् । फूल-साना, तोरीका दाना जत्रै लाग्ने, हरियो बान्कीले युक्त पहेंलो रंगका, फूलहरू गुच्छाको रूपमा फुल्दछन् । यस वृक्षमा पात झर्ने र फूल फुल्ने दुवै कार्य चैत वैशाखको महिनासँगै हुन्छ । फल-यसको फल चिल्लो, हरियो, ६ खण्ड युक्त गोलो, करिब १ से.मी. व्यास भएको हुन्छ । शुरुमा हरियो भए पनि छिप्पिएको फल केही पहेंलो र सुकाएको फल कालो रंगको हुन्छ ।

उपयोगी अंग : फल ।

औषधीय गुणः यसको कार्य रक्तपित्त (नाकमुख आदि इन्द्रियहरूबाट रक्तस्राव हुने), प्रमेह (पिसाव सम्बन्धी रोग), वृष्य (वीर्य बढाउने) र रसायन कर्मको लागि विशेष रूपमा प्रयोग हुन्छ । साथै हर्रोले सञ्चो गराउने सबै खाले रोगमा पनि अमलाको प्रयोग गर्न सकिने व्यहोरा आयुर्वेदमा उल्लेख भएको पाइन्छ ।

नर्सरी तथा वृक्षारोपण:- राम्रोसँग छिप्पिएका बीउलाई काठको मुग्रोको सहायताले बोक्रा फोरेर नर्सरीमा जमाउनु पर्दछ । हाँगाहरूलाई कलमी बनाएर पनि वेर्ना तयार गर्न सकिन्छ । उक्त दुवै किसिमले तयार गरिएका बेर्नाहरूलाई वर्षायाममा ७-८ हातको फरक गरी लगाउनु पर्दछ ।

वाली संकलन समय : असौजदेखि फागुनसम्म ।

संकलन र भण्डारण गर्ने तरिका : असौजदेखि फागुनभित्र अमलाका दानालाई हिफाजत साथ संकलन गर्नु पर्दछ । त्यसपछि फलसँग रहेका अनावश्यक वस्तुलाई फाल्ने र लगभग २ मिनट जति उमालेको पानीमा छोपी राख्दा फल भित्रको घाँजी हटाउन सजिलो पर्दछ । यस कार्यमा अमलाको फल बुढी औंला र चोर औला ले अठ्याउँदा सहजै बीज छुट्टियो भने बफाउने समय पुगेको मान्न सकिन्छ । अन्यथा अझ केहीवेर त्यसै भाँडोमा छोपी राख्नुपर्दछ । यस पश्चात् हावादार छायाँ वा घाममा सुकाई आवश्यक साना-साना पोका बनाएर चिसो र घाम नपर्ने ओभानो भाँडोमा बिर्को बन्द गरी भण्डारण गर्नु पर्दछ ।

विशेषः अधिक समयसम्म तातो पानीमा राख्दा अमलामा रहेको "भिटामीन सी" नष्ट हुन सक्ने भएकोले आवश्यकताभन्दा बढी तातोको सम्पर्क नहोस् भनी ध्यान दिनु पर्दछ ।


Comments